नेपाली
१. समूह ‘क’ मा दिइएका शब्दहरूको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् ः २
समूह ‘क’ समूह ‘ख’
निर्दिष्ट छटपटी
शङ्खनाद विज्ञापनका साथ सामान बेच्ने मानिस
हकर विरोधी वा शत्रु
औडाहा निर्देश गरिएको
उकेल्ने काम
उच्च ध्वनि, ठुलो आवाज
Answer:
२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाँउ भर्नुहोस् ः २
असारको महिना किसानहरूको लागि माना रोपेर मुरी फलाउने समय हो । सूर्यको तेजिलो प्रकाशको समेत पर्वाह नगरिकन हर्षले काममा तल्लीन हुन्छन् । आकाशमा बादलको त्यान्द्रोसम्म नहु“दा पनि घामको तापबाट विचलित नभइकन मानिसहरू काममा खटेको दृश्य मनमोहक देखिन्थ्यो ।
क) “भास्कर” को पर्यायवाची शब्द ......................... हो ।
ख) “विस्मात्” को विपरीतार्थी शब्द .................... हो ।
ग) अनेकार्थी शब्द .............. हो ।
घ) लघुतावाची शब्द ................... हो ।
Answer:
३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा प्राविधिक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः २
शिक्षा जीवनको तेस्रो आँखा हो । नेपालका केही ग्रामीण क्षेत्रका मानिसको काला अक्षर भैसी बराबरको अवस्था रहेको छ । देशले लचिलो प्रकृतिको पाठ्यक्रम निर्माण गरी अनौपचारिक शिक्षाको माध्यमबाट देशको निरक्षरतालाई न्यूनीकरण गर्नुपर्ने हुन्छ । शिक्षाको पहुँच सबै जनतासम्म पुर्याउन काल आयो झटपट जिब्रो भयो लटपट नगरी सूक्ष्म रूपमा स्थानीय तहले प्रभावकारी भूमिका खेल्नु पर्दछ ।
Answer:
४. क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् ः १
(क) (अ) शैक्षनिक (आ) शैक्षणिक(इ) शैक्षणीक (ई) सैक्षणिक
(ख) (अ) विषयवस्तु (आ) बिषयवस्तु (इ) विषयबस्तु (ई) विषयवस्तू
ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् ः २
कूरो नगर्नोस्, उहाँ पनि उस्तै हो । वैसाख जेठको महिना, फाँटमा काम गर्दा कस्तो पाथ्र्यो ? भारि बोकेर उकालो चढ्दा कस्तो पाथ्र्यो
Answer:
५. अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् ः ३
उसको जीवनशैली फेरिएको छ । चालचलन, रीतिरिवाज सबैमा परिवर्तन आएकाले गाउँका मानिसहरू पनि चकित छन् रे । हुन त ऊ सहर गएर आएपछि पो परिवर्तन भएको हो । यसको मेसो कसैले किन नपाएका होलान् ।
Answer:
६. दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् ः (२+२ =४)
क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् ः
देशका असङ्ख्य युवाहरू श्रमिक बनेर विदेश जान पाउँदा हर्षित हुन्छन् , विदेशी भूमिमा अमूल्य श्रम बेच्न बाध्य हुने ती नेपाली युवाहरू इमानदारपूर्वक परिश्रम गर्न भने पछि पर्दैनन् ।
ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रव्रिmया देखाउनुहोस् ः
ससाना चौपाया पालेर गाउँमा बसेका परिश्रमी नीलकण्ठले तिमीजस्ता लाज नभएकालाई आफ्नो केही भन्ने कुरा नभएको बताए । दसहाते फरिया लगाएकी श्रीमतीसँग पनि उनले रिस पोखे । उनले जजसलाई गाली गरे, कसैले पनि कुनै जवाफसवाफ फर्काएनन् ।
Answer:
७. दिइएको अनुच्छेदलाई अभ्यस्त भूत कालमा परिवर्तन गर्नुहोस् ः २
म बिहान सबेरै उठ्छु । म आफ्नो नित्य कार्यगर्छु । म एकछिन पढ्छु । म घरायसी काम पनि सघाउ“छु ।
Answer:
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः २
(क) इच्छार्थकका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा गाउँको विकासको वणर्न गर्नुहोस् ।
(ख) दिइएका बहुवचनका वाक्यलाई एक वचनमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् ः
काममा लाग्न पाउँदा सधैँ खुसी मान्छन् । उनीहरू पढाइमा ध्यान दिन्छन् । अतिरिक्त क्रियाकलापमा सहभागी हुन्छन् । अनावश्यक वादविवाद कहिल्यै गर्दैनन् । सिर्जनात्मक कार्यको लागि प्रशस्त समय दिन्छन् ।
Answer:
९. कोष्ठकमा दिइएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् ः ४
क) ऊ सहर बस्छ । उसले सहरमा काम गर्छ । (वाक्य संश्लेषण )
ख) भाइद्वारा बहिनी पिटिइन् । (कर्तृवाच्य)
ग) तपाईँ राम्ररी पढ्नु हुन्छ । (प्रेरणार्थक)
घ) अमाले अबेरसम्म नसुत्ने कुरा बताउनु भयो । ( प्रत्यक्ष कथन )
Answer:
१०. दिइएको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् ः ४
एक दिनको घटना उदाहरण स्वरूप तिनको सामुन्ने आउन थाल्यो । गोविन्द पण्डित र गोरे जमदारको खेतको झगडा धेरै दिनदेखि चलिआएको थियो, तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन । कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए झैँ ती झगडियालाई झगडाको दुष्परिणाम बुझाउन थाले । हेर गोविन्द पण्डित, हेर गोरे जमदार, झगडा गरेर के लाभ, आपस्तमा मिल, खाऊ, पिऊ र ईश्वरको भजन गर । यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि झगडा गर्ने थिएनन् । तिनीहरू मिल्न मानेनन् र बिचरा मध्यस्थलाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनुपर्यो । यस झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान् ।
प्रश्नहरू ः
(क) ‘यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि झगडा गर्ने थिएनन् ।’ यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित शब्द ‘आपस्तमा’को कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) ‘कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए झैँ ती झगडियालाई झगडाको दुष्परिणाम बुझाउन थाले ।’ यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) “स्वस्थ तनलाई खुसी मनको आधार मानिन्छ ” यस वाक्यलाई मिश्र वाक्यमा रुपान्तरण गर्नुहोस् ।
Answer:
११. तलको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ः ४
वर्षा, असिना र आँधीबेहरीजस्ता प्रतिकूलतालाई छल्न जुन बेलादेखि हाम्रा पुर्खाहरूले गुफालाई आफ्नो आश्रय बनाएका थिए, त्यस बेलादेखि नै मानिस उडुसका बिचको सहवासको गाथा सुरु भएको बुझिन्छ । यदि यस्तै हो भने यो सम्बन्ध करिब ११७ हजार वर्ष पुरान भइसकेको छ । तिनताक गुफामा आश्रय लिई झुन्डिएर बसेका चमेराका बाह्य परजीवी उडुसले स्वाद फेर्ने मौका पाएका थिए । त्यस बेलादेखि नै यी उडुसहरू यसरी मानिसको पछि लागे कि अझपर्यन्त यो पिछा छुटेको छैन । साधारण शब्दमा कीटविज्ञहरूको मनसाय बुझाउने हो भने चमेराको उडुस (ब्याट बग) नै ओछ्यानमा पाइने ती उडुस (ब्याग बग) हुन्, जसले कालान्तरको प्रतिक्रिया स्वरूप केवल लेप र स्वभावमा अन्तर ल्याएका छन् । उनीहरू के भन्दछन् भने मानिसले गुफाबाट आफ्नै बलबुद्धिले निर्मित घरमा बसाइँ सर्दा ती उडुसहरू मानिसहरूसँग घरभित्रको वातावरणमा हुर्कन पुगेका हुन् । उडुस एक खास किसिमको किरा भएकोले कीटविज्ञहरूले यस किराको वणर्न हेमिप्टेरा गनको सिमिसिडी कुलामा राखी गरेका छन् । मानिसलाई पिरोल्ने कुख्यात किराहरूमध्ये यो पनि प्रमुख किरा हो ।
प्रश्नहरू ः
(क) मानिस र उडुसबिचको सम्बन्ध कहिलेदेखि सुरु भयो ?
(ख)उडुसको पहिले केसँग सम्बन्ध रहेको पाइन्थ्यो ?
(ग)उडुस कसरी मानिससँग टाँसिन पुग्यो ?
(घ) कीटविज्ञका अनुसार उडुस कुन किसिमको किरा हो ?
Answer:
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४
(क) तलका बुँदाहरूको आधारमा कथा लेखी शीर्षक पनि दिनुहोस् ।
एकदिन यमराज मरेका मान्छेसँग व्यवहार गर्दागर्दा वाक्क भएका, ......... जिउँदो मान्छेको व्यवहार हेर्न मन लागेको .......... बडेमानको हात्तीमाथि बसी एउटा जिउँदोमान्छे उनैतर्फ आएको देखेका ........... अर्को ठाउँमा जिउँदै मानिसले रुख ढाल्दैगरेको देखेका ........... अचम्ममा परेका .............. आफै दूत चण्ड, अचण्ड र प्रचण्डलाई जिउँदो मानिस समाउन आदेश दिएका .......... दूतहरूले निदाइरहेको जिउँदो मान्छेलाई कोठासहित उचालेर ल्याएका .........., जिउँदा मानिस पापीहरूकोक्रन्दन सुनी बिउँझिएका ............... यमलोक पुगेको थाहा नभएको ............... आफ्नै घर ठानी आफ्नो नोकर यमनाथलाई “यमे’ भनी गाली गरेका ..........ः. यमराज रिसाई आफ्ना दूतहरूलाई जिउँदो मानिसलाई फिर्ता गर्न आदेश........ दूतहरूले पुनः पृथ्वीलोक पुर्याएका ........... आफ्नो शासन, शक्ति, काम र कर्तव्य सही ढङ्गबाट गरेमात्र सफल होइने सन्देश .......... ।
ख) ‘धार्मिक सद्भाव’ शीर्षकमा दुईजना साथीबिच भएको कुराकानीका आधारमा संवादको नमुना तयार पार्नुहोस् ।
Answer:
१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४
क) फेसन फेन्सी पसल पर्वतले मनकामना फेन्सी स्टोर रुपन्देहीलाई जाडो मौसमका विभिन्न तयारी पोसाक पठाइदिन आग्रह गर्दै लेखिने व्यावसायिक पत्रको नमुना तयार पार्नुहोस् ।
ख) आफ्नो विद्यालयले आयोजना गरेको कुनै खेलकुद कार्यक्रमको समाचार तयार पार्नुहोस् ।
Answer:
१४. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् ः २
त्यस पाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला, यहाँ बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो । कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बका आँगनमा बरियाती लैजानु छ । बाबु चाहिँ फलैँचामा ओछ्यान लाएर लडिरहेछ । जन्तीमा बुढोपाको एउटा छैन । खालि ओठ निचोर्दा दुध झर्ने अल्लारे ठिटा मात्र छन् । घरगृहस्थीको यति ठूलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान् ? स्वर्गमा बसेका पितृले के भनिठान्लान् ? कुलको मर्यादा भनेको कत्रो कुरो हो ? त्यो तिमीलाई थाहा छैन । जन्ती बँेसीमा पुगिसके, चाँडो दोसल्ला भिकिदेऊ ।”
Answer:
१५. दिइएको अनुच्छेदबाट एक तृतीयांश सारांश लेख्नुहोस् ः ३
पिकासोका कलाकृति सिर्जना प्रवृत्तिगत दृष्टिले विविध प्रकारका छन् । स्पेनिस चित्रकार पिकासोद्वारा सन् १९०१ र सन् १९०४ का विचमा, सिर्जित कलाकारितालाई परिभाषित गर्न ’ब्लु पिरियड’ पदावली प्रयोग गरिन्छ । पारिवारिक तथा आर्थिक सङ्कटजन्य परिस्थितिका कारण उनमा एकप्रकारको मानसिक तनाव र असामान्य अवस्था सिर्जना भयो । यसैको प्रभावस्वरुप उनले मुख्य रूपमा ब्लु र ब्लुसंगै हरियो कठोर रङ्का धर्काहरूमा अन्य केही रङसमेत मिश्रित मोनोक्रोमोटिक चित्रकला प्रस्तुत गरे । समाजका गरिव र वहिष्कृतका शान्त र व्यग्र मनस्थितिलाई ब्लु रङका साथ जोडेर विचित्रका चित्र बनाए । एक्लोपन, गरिबी र चरम अभाव उनका चित्रकलाका विषयवस्तु बने । गरिवीले आक्रान्त महिला, दुधे बालकसँगका आमाका चित्र र दृष्टिविहीनका चित्रले उनका क्यानभासमा प्राथमिकता पाउन थाले । यस्ता विषय खोज्न उनी कहिले जेलमा थुनिएका मानिस हेर्न जान्थे । कहिले बाटामा भिख मागिरहेका भिखारीसँग घन्टौँ ’वसेर उनका आकृतिमा पोतिएको गम्भीर अवसादलाई आफ्नो चित्रमा उतार्थे । जीवनका निराशा र विसङ्गत अवस्थाको भव्य चित्रण गरिएका उनका यस्ता चित्र सर्वसाधारणवाट निकै रुचाइए । यस्ता चित्र सम्पन्न वर्गले भने त्यति रुचाएनन् । तत्कालमा चित्र विक्री भएन तर कालान्तरमा अनमोल बनेका यिनै चित्र करोडौं मूल्यमा बिक्री भए ।
Answer:
१६. दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् ः ४+४ = ८
क.दिइएको कथाशं पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ः
भोजमाथि काका मञ्जुले गरेको दानवी व्यवहारको कथा सम्झँदा मेरो मनमा झन् झन् औडाहा छुट्यो । छोराले रक्षाका लागि गहन किल्ला फोरेर मैदानमा उत्रिएकी छु । हुन त तरवारको धारमा हिँड्दा मलाई निकै कष्ट भयो होला तर व्याधाले देखिएकी बघिनीझैँ जस्तोसुकै दुःसाहसमा पनि पछि हट्दिनँ तर बाहिरी शत्रुलाई नदबाई घरमा रडाको मच्चाउनु ठिक होइन । उसैले घनघोर जङ्गलमा एक्लै छोडिदिने लक्ष्मणसँग सीताले गरेको व्यवहारलाई फेरि दोहोर्याऊँ कि अथवा अर्कै बाटो लिऊँ ।
प्रश्नहरू ः
क) म पात्रको चित्त नबुझ्नुको कारण के हो ?
ख) यस अंशमा रामायणका कुन कुन पात्रको सम्झना गरिएको छ ?
ख) दिइएको निवन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ः
स्वस्थ तन नै मनको खुसीको आधार हो । मानिसका आफ्नै असावधानीका कारण रोगव्याधिले शरीरमा अनधिकृत रूपमा प्रवेश पाउँछन् र तिनले शारीरिक शक्ति र मनका खुसी लुट्न पुग्छन् । मान्छेले त्यसबाट मुक्ति पाउन प्रयत्न गर्छ । मानव शरीर र मनमाथि आक्रमण गर्ने ती रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्दै मानिसको तन र मनलाई रोगमुक्त पार्ने प्रयत्नबाट नै चिकित्सा विज्ञानको प्रादुर्भाव भएको मानिन्छ । चिकित्सा विज्ञानका एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा दुई किसिमका उपचार पद्धति सबैभन्दा बढी प्रयोगमा छन् । पाश्चात्य विज्ञानले दिएको अद्वितीय वरदान एलोप्याथिक चिकित्सा पद्धति हो भने आयुर्वेद चिकित्सा पूर्वीय वैदिक एवम् प्राच्य सभ्यताले दिएको अभूतपूर्व उपहार हो ।
प्रश्नहरू ः
(अ) चिकित्सा विज्ञान कसरी प्रादुर्भाव भएको मानिन्छ ?
(आ) पूर्वीय र पाश्चात्य चिकित्सा पद्धतिमा पाइने अन्तर के हो ?
Answer:
१७. युवाहरुलाई विदेसिनबाट रोक्नका लागि के गर्नुपर्ला ? घरको माया एकाङ्कीका आधारमा तर्क दिनुहोस् । ४
Answer:
१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् ः ४
क) समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
ख) हामी दुबै चाहान्छौँ, एउटा यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ।
Answer:
१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् ः ७
क) तलको कथाको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् ः
खुसी घाँटीमा अड्किए जस्तो भयो । मैले आमालाई गम्ल्याङ्ङ अँगालो हालेँ । आमाले छातीबाट न्यानो प्रसार भएर मेरो भित्र हृदयमा पुग्यो । म निकै बेरसम्म अँगालोमै बेरिइरहेँ । मेरो हिक्क झन् झन् बढेर आयो । आमासँगको मातृवात्सल्यको अभिनव आयाममा म प्रेमको महासागरमा डुबिरहेकी थिएँ ।
प्रश्न:
अ) ‘आयाम’ कथाका आधारमा याङ्जी र शन्तमायाले जीवनमा भोगेका सङ्घर्षको वणर्न गर्नुहोस् ।
ख) तलको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् ः
देवकोटाको जागिरे जीवनयात्रा पनि नदीझैँ एकनासले कहिल्यै बगेन । उनको जीवनमा कहिलेकाहीँ कहाली लाग्दो दुःखैदुख निम्तिए । देवकोटा ३४ वर्षको उमेरमै वि.सं. २००० भदौ ११ गते नेपाली भाषाअनुवाद् परिषदमा नेपाली पुस्तक लेखकका रूपमा जागिरे भए । यो जागिरे अवधि उनको लेखन यात्राको स्वणर्काल रह्यो । यसै समयमा उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा र निबन्ध रचना गरेका छन् । देवकोटको महासागरजस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ? मुलुकमा जतिबेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्किादै थियो, त्यतिबेला उनले पनि बिद्रोहको बाटो समाते । उनी वि. सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी घरपरिवार कसैलाई थाहा नदिई बनारसतर्फ प्रवासिए । त्यहाँबाट निस्कने युगवाणी पत्रिकामार्फत निरङ्कुशता बिरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके ।
प्रश्न:
अ) लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।
Answer:
२०. दिइएका मध्ये कुनै एक शीर्षकमा १५० शब्दसम्ममा नघटाई निबन्ध लेख्नुहोस् ः ७
(क) डढेलो नियन्त्रणका लागि हाम्रो अभियान
(ख) विश्वबन्धुत्व
(ग) आयुर्वेद चिकित्सा